मेरो सपनाको महानगर । कविता

 

मेरो सपनाको महानगर

    भानुभक्त बिष्ट

यतिखेर,

दारीवाल मान्छेको चस्माको चमक हेरेर

मुस्कुराइरहेछन्

मखमली सपनाहरू ।

 

     स्वर्गको एक झुल्को आँखैमा साँचेर

     कलिला केटाकेटीका कोमल कामनाहरू काखैमा राखेर

मुस्कुराइरहेछ मन्दमन्द

मेरो सपनाको महानगर ।

 

बिहानै विष्णुमतीको बहाबमा बहकिएर

वसन्तपुर / सुन्धारा सुस्ताइरहेका

दिनभरि बाग्मतीमा जलविहार गरेर

वासस्थान फर्किरहेका पर्यटकहरू,

लौरो टेकेर स्वतन्त्र हिँडिरहेका वृद्ध बाआमाहरू,

फराकिलो सडकपेटीमा

निर्धक्क घर फिरिरहेका स्कुले नानीबाबुहरू

अनि,

निर्वाध चल्मलाइरहेका चौतारा / चोकहरू

देखेर फक्रियोस्

शान्त मनको सुन्दर पाखाहरूमा

मित्रताको लालुपाते र भातृत्वको लालीगुराँस ।

 

अचेल,

किचकन्नी क्रन्दनले कहालिँदैन काठमाडौं

गुप्ताङ्ग छोपेझैँ मुखमण्डल छोपेर

स्वच्छ श्वास फेर्न नपाएको झोंकमा

बौलाउँदैनन् बेवारिसे बुद्धहरू

महानगरको मझेरीमा

हुँदैन कुनै चेलीको मोलमोलाइ,

झस्कँदैनन् –

विदेशी बाकसमा फर्किएका लासहरू,

सुनिदैन -

पिज्जाबर्गर हाउस अघिल्तिर

भव्य भिडबाट भोको पेटको चित्कार,  

डुल्दैनन्

सपनाका सर्जकहरू

बेकामे बनेर बबरमहल / बानेश्वरतिर

जुटेर जुलुसहरूमा,

दुर्घटित हुँदैन-

आस्तेआस्ते गुडिरहेको गणतन्त्रको गाडी,

जानुपर्दैन कसैले

महानगरीय मेट्रोमा मानवताको मलामी,

साँच्चै !

जल्दैनन् प्रेम आचार्यहरू अभावको आगोमा,

बग्दैनन् बिष्णुमती/ बाग्मतीहरू

बोकेर पापैपापको पिप नसाहरूमा,

गुजुल्टिँदैन तारहरूको गुजुल्टोमा

मेरो सपनाको महानगर ।

 

यतिखेर,

दारीवाल मान्छेको चस्माको चमक हेरेर

मुस्कुराइरहेछन्

मखमली सपनाहरू ।


-          २०८० मङ्सिर २० गते








Comments