मेरो सपनाको महानगर । कविता
मेरो सपनाको
महानगर
–
भानुभक्त बिष्ट
यतिखेर,
दारीवाल मान्छेको
चस्माको चमक हेरेर
मुस्कुराइरहेछन्
मखमली सपनाहरू ।
स्वर्गको
एक झुल्को आँखैमा साँचेर
कलिला
केटाकेटीका कोमल कामनाहरू काखैमा राखेर
मुस्कुराइरहेछ
मन्दमन्द
मेरो सपनाको
महानगर ।
बिहानै
विष्णुमतीको बहाबमा बहकिएर
वसन्तपुर / सुन्धारा सुस्ताइरहेका
दिनभरि बाग्मतीमा
जलविहार गरेर
वासस्थान
फर्किरहेका पर्यटकहरू,
लौरो टेकेर
स्वतन्त्र हिँडिरहेका वृद्ध बाआमाहरू,
फराकिलो सडकपेटीमा
निर्धक्क घर
फिरिरहेका स्कुले नानीबाबुहरू
अनि,
निर्वाध चल्मलाइरहेका
चौतारा /
चोकहरू
देखेर फक्रियोस्
शान्त मनको सुन्दर
पाखाहरूमा
मित्रताको
लालुपाते र भातृत्वको लालीगुराँस ।
अचेल,
किचकन्नी
क्रन्दनले कहालिँदैन काठमाडौं
गुप्ताङ्ग छोपेझैँ
मुखमण्डल छोपेर
स्वच्छ श्वास
फेर्न नपाएको झोंकमा
बौलाउँदैनन्
बेवारिसे बुद्धहरू
महानगरको मझेरीमा
हुँदैन कुनै चेलीको
मोलमोलाइ,
झस्कँदैनन् –
विदेशी बाकसमा
फर्किएका लासहरू,
सुनिदैन -
‘पिज्जा’ र ‘बर्गर हाउस’ अघिल्तिर
भव्य भिडबाट भोको
पेटको चित्कार,
डुल्दैनन् –
सपनाका सर्जकहरू
बेकामे बनेर बबरमहल
/ बानेश्वरतिर
जुटेर जुलुसहरूमा,
दुर्घटित
हुँदैन-
आस्तेआस्ते
गुडिरहेको गणतन्त्रको गाडी,
जानुपर्दैन
कसैले
महानगरीय
मेट्रोमा मानवताको मलामी,
साँच्चै
!
जल्दैनन्
प्रेम आचार्यहरू अभावको आगोमा,
बग्दैनन्
बिष्णुमती/
बाग्मतीहरू
बोकेर
पापैपापको पिप नसाहरूमा,
गुजुल्टिँदैन
तारहरूको गुजुल्टोमा
मेरो
सपनाको महानगर ।
यतिखेर,
दारीवाल मान्छेको चस्माको चमक हेरेर
मुस्कुराइरहेछन्
मखमली सपनाहरू ।
- २०८० मङ्सिर २० गते

Comments
Post a Comment