तीर

 

तीर

-         भानुभक्त बिष्ट

हातगोडा एक्कासी लल्याकलुलुक गले । मन भिरको टाकुराबाट खसेझैँ चिसो भएर अत्तालियो । वर्षौँपछि कहिल्यै नसुनेको र नचिताएको सुन्नुपर्दा मेरा कान किंकर्तव्यविमूढ भए । केही दिनयता सरुको व्यवहारमा आएको परिवर्तनले म अवाक थिएँ । भलै लोग्ने हुनुको नाताले पनि सोबारे जान्ने अधिकार राख्थेँ । मैले उसलाई सोधेको यत्ति हो – “सरु, तिमी पहिलेको जस्तो सरु रहेनौ । तिमी किन यसरी बदलियौ? मैले के बिराएँ?”

ऊ निकैबेर एक तमासले घोत्लिई । अनुहारभरि औंशीको रात पोतेर मुन्टो अर्कोतिर बटारी । मैले चिने र देखेदेखि उसलाई पहिलोपटक यतिबिघ्न उजाड र बेचैन देखेको हुँ । वर्सात्अघि मडारिएको कालो बादललाई चिरेर चट्याङ्ग परेजस्तो ऊ अकस्मात् बोली-  म अब यो घरमा बस्न सक्दिन । मेरो यो अन्तिम निर्णय हो । मलाई तुरुन्त डिभोर्स चाहियो।

महिना दिनअघि जापानबाट फर्किएकै रात उसले यही कुरा बर्बराएकी थिई । कार्तिकको जाडोमा सँगै दुईतिर सुरक्षा गार्ड जसरी सुतेका छोराछोरीमा यो कुरा कत्तिको गढ्यो, भेउ पाइन । म भने त्यो रात पनि उसरी नै झस्किएको थिएँ । मन नमज्जाले कुँडिएको थियो । पत्यारै लागेन कि उतिधेरै  प्रियंवदा नारीको मुखबाट पनि यसरी तीरजस्ता शब्दहरू निस्कन सक्छन् । भाला त्यसरी के रोपिएला र जसरी उसका शब्दवाण मेरा फूलजस्तै कोमल मनमा रोपिएका थिए । म झ्यालनेर पलङमा पल्टिएको थिएँ । पल्टिएको पनि के भनौँ र, कुनै आहत जीवझैँ ढलेको थिएँ । नौनीझैँ नरम भएर प्रश्नको पर्रा बर्साएँ -  प्रिय, तिमी यो के भन्दैछौ? तिमी होसमा त छौ? कति सजिलै भन्न सक्छौ हगि डिभोर्स चाहियोभनेर ! बिहेपछिका यी वर्षहरू केका लागि थिए? मेरा यत्रा वर्षको प्रतीक्षा केका लागि थियो? साथ, समर्पण र सङ्घर्षको मूल्य के? तिमीले अझै प्रेम र परिवारको अर्थ बुझेनौ हगि? यी साना छोराछोरीले सोध्ने प्रश्नको जवाफ छ तिमीसँग? यिनको भविष्य कसले सोच्ने? छोराछोरीसँग आमाको नाताले के माने राख्छ?”

मैले निर्णय गरिसकेँ । म तपाईँसँग बस्नेगरी आएको होइन । हामी अब आ-आफ्नो सुर गरेर बसौँ,” जवाफमा उसले भनी । बोल्दा ऊ काँपिरहेकी थिई । उसको बोलीमा एक किसिमको थर्थराहट थियो मानौँ ऊ गोसाइँकुण्डको चिसो पानीमा डुबुल्की मारेर बाहिर निस्किएकी थिई । ऊभित्र असन्तुष्टि र अशान्तिको आगो दनदन दन्किरहेको थियो । म मूर्छित थिएँ । उसले चलाएको तीर मुटुमै गढ्यो शूल बनेर ।

मैले त्यस रात पनि उसलाई लाख सम्झाउने कोशिस गरेँ कि जिन्दगी मजाक होइन भनेर । बिहेपछिको चौध वर्षलाई कुनै नाटकको दृश्य सम्झी शायद उसले । जापान बसाइको पाँच वर्ष र ती वर्षहरूसँगै उडेका जिन्दगीका रङ्गहरू कसरी भुल्न सक्थेँ र म! सम्झनाको तरेलीमा सल्बलाइरहेका सङ्घर्षका ती दिनहरू कसरी इतिहासको कालकोठरीमा कैद गरौँ? उफ्….!

जिन्दगी पैसा र पावर मात्र होइन, सन्तुष्टि र सम्बन्धले ठड्याएको सुन्दर र सबल पर्खाल हो । उसले केही वर्ष र दिनहरूसँग साँटेको रुपैयाँले उसको आत्मसम्मान र आत्मविश्वासको पर्खाल यसरी चुलिएछ कि मैले कल्पेको खुसी र सुखी एवम् सानो संसार पूरापूर छेकिसकेको थियो । लोग्ने भएर पनि मैले कहिल्यै लोग्ने हुनुको अहम् जताउन खोजिन । एउटा शिक्षित र सभ्य व्यक्तिबाट समाजले जे अपेक्षा गर्दछ त्यसप्रति म हदैसम्म सचेत थिएँ । ऊप्रति मेरो कुनै आक्षेप पनि थिएन र हस्तक्षेप पनि । उसले देखेको सपनामा केही रङ्ग मैले पनि पोतेँ हुँला । उसले सजाएको फूलबारीमा केही फूल मैले पनि सारेँ हुँला । बाँकी जीवन पन्छीझैँ सँगसँगै कावा खान मन थियो प्रेम र स्नेहको पखेटा हालेर ।

हो, त्यतिखेर मसँग बोल्ने शब्दको खडेरी नै परिरहेको थियो । वर्षौँपछि आफ्नो अर्धाङ्गिनीको आलिङ्गनमा बाँधिने उत्कट इच्छाको लगभग त्यही रात हत्या भइसकेको थियो । ऊ नेपाल फर्किने खबरले सबैभन्दा खुसी म नै थिएँ । पत्नीसँगको सुखद पुनर्मिलनका लागि म कत्ति आतूर थिएँ । उसको स्वागतार्थ थुप्रै तयारी गरेँ । काठमाडौँको जाडोमा जताबाट ओढे पनि पुग्नेगरी सिरक तयार गराएँ । एउटा बुट्टेदार नयाँ तन्ना फेरेँ । उसका लागि दाँत माझ्ने बुरुसदेखि कपाल कोर्ने काइँयोसम्मका सबै व्यवस्था गरेँ । ऊ फर्किएपछिको पहिलो रात मेरा लागि पेरिस वा बाली मनाइने कुनै नवबधुको स्वर्णिम् र अविस्मरणीय हनिमुनभन्दा कम हुनेवाला थिएन । म मनसुनको बादलजस्तै मायाको वर्षा गराएर बर्षौँदेखि बाँझिएको रुखो जमिन भिजाउन आतुर थिएँ ।

जापानबाट सरु फर्किने दिन १० वर्षे छोरा समृद्धलाई लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेँ । साँझ सात बजेदेखि म विमानस्थलको भित्तामा झुण्डिएको स्क्रिनमा नजर दौडाउन थालेँ । सवा आठ बजे ओर्लिनुपर्ने विमानको छेकछन्द केही देखिएन । हङकङ ट्रान्जिटमा निकैबेर कुर्नुपरेछ । साढे दश बजेतिर मात्र विमान अवतरण भयो । विमानस्थलमा उसलाई कुर्दाको तीन घण्टा मलाई तीन वर्षभन्दा लामो लाग्यो । विमान ओर्लिएपछि पनि निकैबेर सरु र सँगै आएका उसका साथीहरू निस्केनन् । कैला कपाल भएका गोरा केही विदेशीहरूसँगै ट्रली घिच्याउँदै निस्किरहेकी उसलाई पहिलो झल्को देख्न पाउँदा म र समृद्ध खुसीले सगरमाथाभन्दा माथि उचालियौँ । राती धपक्क बलेका बत्तीको उज्यालोमा सरुको गोरो अनुहार मलाई पूर्णिमाको जूनभन्दा सुन्दर लाग्यो । लामबद्ध मान्छेको भिडमा म एउटा हातले छोरो समातेर उभिरहेको थिएँ भने अर्को हात उसको लागि हल्लाउँदै थिएँ । अन्ततः उसले देखी । ट्रली घिसार्दै भिडभन्दा अलि पर आई । अरू साथीहरू पनि आए । सबैले आफ्ना परिवारका सदस्य भेट्टाएपछि छुट्नुअघि सामूहिक तस्बिर खिचाए । म छुट्टा मान्छे भएकोले उनीहरूको दुईचार क्लिक फोटो खिचिदिएँ । क्यामेराकै लेन्सबाट हेर्दा पनि उसको अनुहारबाट खुसी गायव थियो । दुईचार थान लत्ताकपडा र उपहारका चिजवस्तुहरू पोको पार्दापार्दै खुसी उतै छोडेर आइछिन् कि झैँ लाग्यो । सबैलाई बिदाइको हात हल्लाइसकेपछि मैले ट्याक्सी बोलाएँ । ट्याक्सीमा बस्दा पनि छोरालाई बीचमा राखेर ऊ पल्लो छेउपट्टि बसी । उसको स्पर्शको लागि जागेको मेरो भोक मेटिएन । मनमनै निराश भएँ ।

बुहारीको स्वागतार्थ आमा खाना पकाएर कुरिरहनुभएको थियो । हामी सबैले खाना खायौँ । सँधै पल्लो कोठामा सुत्ने छोराछोरी आज ममीसँगै सुत्ने भनेर यतै बसे । सुत्नका लागि सरुले भुइँमा ओछ्यान लगाई । कोसेलीको चकलेट र जापानिज मिठाईहरू बाँडिओरी ऊ छोरो र छोरीको बीचमा सुती । सोचेँ- मजस्तै यी छोराछोरी पनि त न्यास्रिएका छन् नि । त्यस रात मेरो कल्पना केवल कल्पनामै सीमित भयो । ऊ मबाट छोइन पनि तयार थिइन, मसँग कुनै सुखदुख साँट्न त परै जाओस् । मैले सँगै सुतौँ सबैजना भने, उसले मानिन । पुनर्मिलनको त्यो अहम् घडीमा म शारीरिक प्यास  हैन, उसको मायालु स्पर्श महसुस गर्न चाहन्थेँ ।

नेपाल फर्केपछि ऊ काठमाडौँमा हामीसँग पाँच दिन अडिई । छैटौँ दिन भरतपुर आमाबुबाकोमा जान कस्सिई । मलाई उसँग नजिक हुने बहाना चाहिएको थियो । अफिसमा म्यासेज ठेलिदिएँ र उसलाई बाइकमा राखेर आफैँ हान्निएँ । मलाई उसको मन पढ्नु थियो । लामो बिदापछि स्कुले बालबालिकाले अक्षर बिर्सिएजस्तै भएको थियो मलाई । ससुराली पुगियो । बेलुका सुत्ने ओछ्यान एउटै थियो । मनमनै पुलकित भएँ । बिछ्यौनामा पल्टिएर उसलाई कुरिरहेँ । एकछिनपछि ऊ आई । तर सुत्नुअघि उसले एउटा शर्त राखी राती छुन नपाइने । उसले बीचमा शिरानी राखी र भित्तापट्टि सुती । जे भएपनि मनको कुरा सुनाउने यो राम्रो अवसर थियो । मलिन स्वरमा मैले सोधेँ – “तिमी किन यस्तो गर्दैछौ यार ? तिमीप्रतिको प्रेम र विश्वासलाई म कसरी यसरी चटक्कै बिर्सन सकूँला र ? मैले के गल्ती गरेँ ? मैले कहिले तिम्रो चित्त दुखाएँ? मेरा बारेमा कसैले केही सुनाइदिए कि? कि मभन्दा राम्रो मान्छे…? तिमीभित्र केही त चलिरहेको छ । नत्र तिमी यति कठोर अनि निष्ठुर कसरी हुन सक्छौ!“

प्रत्युत्तरमा ऊ बोली, “ अब हामी एक हुनै सक्दैनौँ । यसरी नै बानी पार्दै जानू । मलाई स्वतन्त्र छोडिदिनुस् । तपाइँले सोचेजस्तो सम्बन्ध अब कदापि हुन सक्दैन ।

उसको कुराले मन चिसो भयो । ऊ साँच्चै गम्भीर थिई । मैले भनेँ – “तिम्रो यो व्यवहारले जरूर हाम्रो मायाको दुई निशानीप्रति अन्याय हुनेछ । छोराछोरीले हामीबाटै त हो सिक्ने । हाम्रो मायापिर्ती देखे न उनीहरू पनि प्रेमिल संसारको सिर्जना गर्न सक्लान् । पीडा हुन्छ यार सारै । म तिम्रो व्यवहार देखेर तीनछक परिराछु ।मेरा धाराप्रवाह गुनासाहरू ऊ एउटा असल स्रोता बनेर सुनिरही ।

तर अफसोस, नतिजा सोचेजस्तो आएन । म मरिचझैँ खिस्रिक्क चाउरिएको थिएँ त्यो रात । सँगै सुतेर पनि ममा कुनै उत्तेजना थिएन । शारीरिक सम्बन्धका लागि ऊप्रति लालायित भइन । ऊप्रति आकर्षण होइन, सम्मान मात्र जागृत भइरह्यो । वास्तवमा म एउटा जिउँदो लाशसिवाय केही थिइनँ । तैपनि परिवार र सम्बन्ध टिकाइराख्ने मन्त्रको खोजीमा एकतमास लागिरहेँ । आशाको दियो अझै निभिसकेको थिएन ।

बुडाबुडीको सामान्य नोकझोक साधारण भएकोले सासु-ससुरासँग अहिले नै सबै कुरा भनिहाल्न उचित ठानिन । भोलिपल्ट पनि म ससुरालीमै बसेँ । तर त्यो रात म एक्लै सुतेछु । आमाछोरी टिभी हेर्दै गफ्फिँदै थिए । सरु बैठक कोठामै सुतिछ । कुनै पार नलाग्ने देखेपछि तेस्रो दिन म उसलाई त्यहीँ छोडेर काठमाडौँ फर्किएँ । छोरोछोरी न्यास्रिए भनेर फोन गरेपछि मात्र ऊ झण्डै एक महिनामा फर्किई ।

 

जबजब सरुसँग नजिक हुन खोज्थेँ, उसको प्रतिक्रियाले मलाई तत्काल शिथिल बनाउँथ्यो । एक किसिमको हीनताबोध हुन्थ्यो र फतक्कै गल्थेँ । आफैँलाई दोषी करार गर्थेँ । समय क्रमसँगै सुस्तरी आफूलाई सम्हाल्न थालेँ । विगतलाई विस्तारै बिर्सने अभ्यास गर्न थालेँ । विगत र वर्तमान नै बिर्सनु परेपछि आगत त उल्का ताराजस्तो न भयो, फगत् झिल्मिलायो अनि बिलायो ।

सेक्स सबैथोक होइन । मान्छे सेक्सबिना पनि मनोहर जिन्दगी बाँच्न सक्छ । तर पनि श्रीमान्-श्रीमती हुनुले केही अर्थ पक्कै राख्छ । सेक्सकै कारण संसारमा कत्रा-कत्रा घटना भएका छन् । सेक्स शरीरले भन्दा पनि मनले गरिन्छ । म आफ्नो मन काबुमा राख्न सक्ने मान्छे हुँ भन्नेमा ढुक्क थिएँ । यस्तैमा मैले एक दिन उसलाई सोधेँ – “तिमीलाई मेरो माया लाग्दैन?” उत्तिनैखेर उसले जवाफ फर्काई, “लाग्दैन । वास्तवमा मलाई तपाईँ कहिल्यै पनि मन परेन । बिहेदेखि अहिलेसम्म पनि ।

उसको वचनरूपी तीरले फेरि मुटुमा रोप्यो ।

मन नपरेको मान्छेसँग बिहे किन गर्‍यौ त?” मेरो प्रश्न थियो ।

उसले भनी, “बाबाआमाको इच्छा पूरा गरिदिएको मात्र । उहाँहरू चाहनुहुन्थ्यो ज्वाइँ पढेलेखेको, असल र विद्वान होस् तपाइँजस्तै ।

बाबा-आमाको इच्छा, आकांक्षाभन्दा आफ्नो रहर र चाहना महत्वपूर्ण होइन र ? बिहे तिम्रो, जिउनुपर्ने जिन्दगी तिम्रो अनि बाबाआमाको लागि बिहे? आफ्नो बुबाआमालाई आफ्नो इच्छा चाहनामा आश्वस्त पार्न सकिहालिन्थ्यो नि । यसरी कुर्बानी नै दिनु त पर्दैनथ्यो होला! मैले आफ्नो तर्क पस्किएँ ।

ठूल्दाइको बिहेसँग पनि आमाबुबाको चित्त नबुझेको कारण उसले यस्तो निर्णय लिनुपरेको उसले बताई । आमाबुबाको अनुहारमा अलिकति भने पनि मुस्कान पोत्न चाहन्थी ऊ । असल छोरीको भूमिका निभाउनकै लागि सरुले मसँग बिहे गरेको प्रष्टीकरण प्रस्तुत गरी । उसको कुराले म एकाएक पत्थर भएँ । मभित्रको माया र प्रेमका तलाउहरू सब सुके । म केवल निर्जीव वस्तुमा परिणत भएँ, संवेदनहीन र चेतनाशून्य । ऊप्रतिको मेरो प्रेम र समर्पण अब सम्मान र आदरमा बदलिए । मैले आफूलाई एउटा दुष्ट प्राणीको रूपमा पाएँ, कि उसको सपनाको संसारलाई मैले बारम्बार बलात्कार गर्दै आइरहेको रहेछु । यत्रा वर्षसम्म पनि म उसको मनमझेरीमा पुग्न सकिनछु । मैले उसलाई गरेको प्रेमलाई उसले प्रेमको रूपमा ग्रहण गरेकै रहिनछ । मलाई अकस्मात् दया पलाएर आयो ऊ र उसको दयनीयताप्रति । समग्रमा हेर्ने हो भने हाम्रा विवाहपछिका वर्षहरूको यत्रा ठेली सबका सब खेर गएछन् । हामीले जिन्दगी बाँच्न बिर्सिएछौँ ।

मलाई वाकवाकी लागेर आयो । केही सोच्न सकिनँ । रिँगटाले भाउन्न भएँ । उसको रोदनपूर्ण अभिव्यक्तिले मलाई दोषी करार गरिरहेको थियो । वास्तवमा हामी दुवै अपराधी भएछौँ । म एउटा स्त्रीको सुन्दर सपनामाथि खेल्दै सम्भोगको नाममा करणी गर्दै रहेछु । सरु आफ्नै रहर र चाहनाको हत्यारा बनिछे । त्योभन्दा पनि बढी ऊ मेरो हृदयमा तीर चलाइरहेकी थिई पटक-पटक । उसले चलाएको बेवास्ताको तीरले मेरो पुरुषत्वको शिर छेदन गरिरहेको थियो ।

सरुले चलाएको अन्तिम अस्त्रले अचेत भएर ढल्नुअघि बितेका एक-एक पलको झिल्को मानसपटलमा फिँजारिए बिस्कुन बनेर । जापान जानुभन्दा दुई वर्षअघि पनि अदालतको ढोका ढक्ढक्याउन पुगेकी रहिछ न्याय माग्दै । न्यायको पर्याय डिभोर्स याने कि पारपाचुके । चिनजानकै एकजना गाउँले दाजुले मारी झपारेर पठाएछन् । लाग्छ, त्यतिखेर ऊ अहिलेजस्तो परिपक्व निर्णय गर्न सक्ने भएकी थिइन । काखको छोरी सानै भएकोले होला उसको आवेग छिट्टै मत्थर भएको थियो उतिबेला ।

सरु नागासाकीबाट नेपाल फर्केको झण्डै दुई साल बितिसक्दा पनि हामीबीचको सम्बन्ध पुसे ठिहिरोबाट माथि उठ्न सकेन । समृद्ध र सपना साथमा हुँदा ऊभित्रको गुलाव केही फक्रन्थ्यो । कि त जापानमा बनाएको दाइसँग भिडियो कलमा जापानी भाषामै गफ्फिँदा सुन्न पाइन्थ्यो उसको हाँसो । नत्र सोलीथुमको लेकलाई कुहिरोले ढाकेजस्तो अँध्यारो । हामीबीचको खटपटबारे छोरोछोरीले भेउ नपाऊन् भन्नेमा हामी दुवै सतर्क थियौँ । सरु एक किसिमको सहज सेफ ल्याण्डिङ कुरिरहेकी थिई । बेलाबेला म उसँग बात मार्ने र दुखेसो पोख्ने औसर खोजिरहन्थेँ । ऊ मबाट परपर हुन्थी । होलीको दिन थियो । मौका छोपेर मैले उसको हात च्याप्प समातेँ र उसलाई आलिंगनमा बेर्न खोजेँ । ऊ अररो भई र मबाट फुत्किई । मेरा हरेक प्रस्तावहरूमा सँधै उसको प्रतिक्रिया नाइँनै हुन्थ्यो । म अरू जबर्जस्ती गर्दिनथेँ । श्रीमती नै भए पनि इच्छा विपरीत केही गर्न मिल्दैन भन्ने कुरो बुझेको थिएँ । पटक-पटक मेरा मिसन यसरी नै फेलखाँदै गए ।

दिनहरू बितिरहे क्रमशः । काठमाडौँमा जाडोले राज गर्दै थियो । म भने भित्रभित्रै उकुसमुकुस भएर गुम्सिदै गएँ । कुनै बेला त लाग्थ्यो म डिप्रेशनमा जाँदैछु । सरु पनि त्यही मनस्थितिबाट गुज्रिँदै थिई शायद । उसको मुहारमा मडारिएको कालो बादलले जिन्दगीमा ठूलै आँधी तूफान आउने संकेत गर्दै थियो । जापानबाट फर्किएदेखि छोराछोरीसँग अलि बढी नै झ्याम्मिरहेकी थिई । किनकि ऊ मलाई स्पेस दिने पक्षमा पटक्कै थिइन । लाग्दो हो डिभोर्स नै गर्ने भएपछि बाबुनानीहरू आफ्नो पोल्टामा पारूँ । अझ त्योभन्दा पनि बढी त जापान छँदाको वियोगपूर्ण समयको भर्पाइ गर्दै थिई ऊ । जेसुकै भएपनि एउटा आमाको मातृवात्सल्यमा शङ्का र ईर्ष्या गर्नु कदापि राम्रो होइन । चाहना त ती छोराछोरीजस्तै उसकै काखमा लुटपुटिने थियो मेरो पनि । बस, अलिकति प्रेमयुक्त नखरामा आल्हादित हुने रहर अन्तर्मनमा छापिएकै थियो ।

केरमेट नै सही जिन्दगीका पानाहरू एकपछि अर्को पल्टिँदै गए । सतहत्तर सालको कार्तिकमा सरु नेपाल आएको पनि तीन वर्ष भयो । समयको यो अन्तरालमा हामीभित्रको सङ्कट थप गहिरियो, दुरी झन् बढ्यो । पछिल्ला वर्षहरू हाम्रा लागि मात्र होइन, सारा विश्वलाई नै सङ्कटपूर्ण बने । कोभिड-नाइन्टिनले संसारको कुनै कुनो छाडेन । मेरा लागि कोरोनाले खासै महत्व राखेन । किनकी म त्योभन्दा भयानक भुङ्ग्रोमा पिल्सिरहेको थिएँ ।

यो पिल्साइ अरूलाई रत्ति पनि थाहा दिएनौँ हामीले । जिन्दगीको पछिल्लो कुइनेटो एक्लै पार गरिरहेकी मेरी आमालाई हाम्रो बारेमा अत्तोपत्तो थिएन । अरूले देख्दा हाम्रो दैनिकीमा कुनै तात्विक अन्तर आएन । छिमेकमा सबैले हामीलाई लोभलाग्दो जोडी भनेर नमूनाकै रूपमा लिन्थे । हामीभित्र यदि कुनै कमजोरी थिए भने रहस्यकै गर्भमा थिए । लकडाउन र निषेधाज्ञा छलेर हामी कहिले चिडियाखाना पुग्यौँ त कहिले चन्द्रागिरिको चुचुरो । साथमा समृद्ध र सपना कहिल्यै छुटाएनौँ । ऊ चाहन्थी - बच्चाहरूसँगको बसाइ यादगार बनोस् । घुम्ने सिलसिलामा म प्रायः क्यामेरा-म्यान बन्दिन्थेँ, उनीहरू फिस्स हाँस्थे औँलाहरू ठड्याउँदै, एकअर्कालाई औँलाकै टुप्पी बनाउँदै । सरु र समृद्धको शिरमाथि सिंग बनाउन खप्पिस थिई सपना । बच्चाहरूको करबलले मात्र एकाध सेल्फी र सामूहिक तस्बिर खिचिन्थ्यो जसमा म अटाउँथेँ ।

फाटेको मन सिलाउने दर्जी कहीँ नभटिँदो रहेछ । सम्बन्ध टुटाउनेभन्दा जुटाउने जमर्को हरदम गरिरहेँ । दुबईमा बस्ने उसका ठूल्दाइ, कतारमा निष्फिक्री कमाइरहेका कान्छा दाइ, माइतीका आमाबुबा, मकवानपुरको मनहरीमा  बस्ने उसका मावलीहरू सबैसबैसँग अनुनयविनय गरेँ । उहाँहरूसँग दुखेसो पोखेँ सरुकै उपस्थितिमा पनि । मेरो हारगुहारले खासै अर्थ राखेन । अन्ततः निर्णय उसकै थियो । परिवार र आफन्तजन सबैले सम्झाउन लाख कोशिस गरे । अहँ, उसको बदलिएको मन अरू बदलिएन । उसको अर्जुनदृष्टि डिभोर्समा थियो । माइजु, भाउजुहरूले परिवार र सम्बन्धबारे हजार मन्त्र पढाउँथे, सरु सुनेर उडाइदिन्थी । सरुका लागि यो समय डिभोर्स पूर्व-तयारीको समय थियो ।

जब सुत्ने बेला हुन्छ, उनीहरू भुइँमा बिस्तरा लगाउँछन् । समृद्ध र सपनाले उनीहरूको मामुलाई बीचमा राखेर सुत्ने आदत बनाइसकेका छन् । म पलङमा ढल्छु । नचाहेर पनि कल्पनाको भूमरिमा रुमल्लिन्छु । कल्पना र सम्झनाका तरङ्गहरूमा हेल्लिँदा हेल्लिँदै कुनबेला भुसुक्क निदाउँछु, पत्तै हुँदैन ।

सरुका लागि रानीमहल ठड्याउन सकिनँ होला, चाहेजति बैंक ब्यालेन्स भएन होला । एउटा मामुली जागिरेले त्यो सब पूरा गर्न सिधा बाटोबाट पक्कै सम्भव थिएन । तर पनि मैले जेजति गरेँ उसको इच्छा आकांक्षालाई शिरमा राखेर गरेँ । जीवनको हरेक पाटोमा अभ्यस्त भइरहँदा उसका रहर र इच्छा पूर्तिका लागि स्वस्फूर्त लागिगरहेकै थिएँ । जतिबेला ऊ जापानमै थिई, उसकै सल्लाहमा छोराछोरी बोकेर हेटौँडाबाट काठमाडौँ सरेको थिएँ सन्तानको भविष्यका लागि भनेर । सामान्य जागिरे भए पनि एउटा फ्ल्याट भाडामा लिएर बसेका थियौँ । उता चौघडामा भएको हाम्रो घर मावलीको हजुरबुबाले रेखदेख गरिदिनुहुन्थ्यो । छोराछोरीको लागि कपडा र साइकल किन्न आफ्नै मर्जीले पठाएको पैसाबाहेक उसँग अरू पैसा मागिनँ । उसले कमाएको जति माइतीको बुबाको नाममा पठाउने गरेको छु भन्थी । उसको दुखको मूल्य, उसकै अधिकार । मैले कुनै प्रतिवाद गरिनँ ।

समय घर्किँदै गयो । समयसँगै हामीबीचको संवादहीनता गहिरिँदै गयो । बिहान पाँच बजेदेखि राती अबेरसम्म जागिरमै व्यस्त हुन थालेँ । बिहान कलेज पढाउने, बाँकी समय मिडिया हाउसलाई । ऊ जापानबाट फर्किएपछि म एउटा टेलिभिजनमा जोडिएको थिएँ । त्यसले गर्दा पनि लकडाउनको बेला घरमा थुनिएर बस्नु परेन । साथै दैनिक गुजारा पनि टरेकै थियो । नत्र मष्तिस्कलाई युद्ध मैदान बनाएर कसरी बसिरहन सक्थेँ र त्यो माहोलमा ! जब कुनै बिदाको दिन आउँथ्यो, हामी मम बनाउँथ्यौँ ̶ भेज र नन-भेज दुवै । आमालाई भेज, अरूलाई नन-भेज । सरु रसबरीको पारखी थिई । जिन्दगी निरस नै सही, आफ्नै हातले रसबरी बनाएर खुवाउन छाडिनँ । भान्छामा कहिले चटपट, कहिले चाउमिन, सुकुटी, छोयला आदिको रजाइँ चल्थ्यो । म धेरैपटक उसलाई लिएर उसका साथीहरूकोमा गएको छु । साथीहरूसँग हुँदा ऊ निकै खुलेर हाँसखेल गर्थी । साथीहरूसँग मेरा बारेमा प्रशंसाका दुईचार शब्द बोलिरहेकी हुन्थी । सबैभन्दा बढी मेरा हातगोडाका औंलाको प्रशंसा गर्थी । घर परिवारको नराम्रो कुरा कहीँकतै गरेको सुनिनँ ।

हामी कानूनी हिसाबले अझै श्रीमान्-श्रीमती नै थियौँ । तर व्यवहारमा ऊ मेरा लागि केवल पाहुना मात्र थिई । हामीबीच एउटा ‍औपचारिक सम्बन्ध मात्र बाँकी थियो । एकअर्काको बोली नमिसिएको महिनौँ भएछ । केही भन्न वा अह्राउन पर्‍यो भने मोबाइलमा म्यासेज छोड्थ्यौँ । त्यसमा कुनै प्रेमभावका कुराहरू हुँदैनथे । एक दिन म कार्यालयमै छँदा उसले म्यासेज पठाई अदालतमा डिभोर्सको प्रकृया बुझेर आउनू भनेर । मैले तत्काल मेरा एकजना वकिल मित्रलाई सोबारे बुझेँ । मैले आफ्नो डिभोर्सको कुरा गर्दा ऊ झस्किएको थियो । सबै वृतान्त सुनाइसकेपछि मैले उसलाई पेपर तयार पार्न भने । यो कठिन निर्णयले सास फेर्न पनि सकस भयो । रुन्चे मुख लगाएर बेलुका ९ बजेतिर डेरामा फर्किएँ ।

काम फटाफट भयो । कुनै पनि कुरा बनाउन निकै समय र समर्पण चाहिन्छ, तर बिगार्न सजिलो हुन्छ । धन्न सहरमा निषेधाज्ञा खुकुलो हुँदै थियो र सजिलो भयो । पारिवारिक नाता टुट्न लागे पनि बानेश्वरसँग कार्यगत नाता टुटेको थिएन । केही विवरणहरू चाहिए वकिल भीमले फोन गर्थे । एक दिन भीमजीले थापागाउँस्थित आफ्नो अफिसमा आमन्त्रण गरे । दिउँसो लन्च ब्रेकको मौका छोपेर फुत्त निस्किएँ । चियाको चुस्कीसँगै जिन्दगीका विविध आयामका कुरा गर्‍यौँ । भीमजीले तयार हुँदै गरेको डकुमेन्टको भाषाप्रतिको प्रतिक्रिया खोजे । मैले त्यसलाई तत्काल मोबाइलको क्यामेरामा कैद गरेँ र सरुलाई पठाएँ । रोमनमा टाइप गरेर म्यासेज लेखेँ - वकिल साबले तयार पार्नुभएको पेपर यस्तो रेछ । यसमा प्रयोग गरिएको भाषा ठिक छ/छैन हेरेर भन है ।

चियागफ सकिँदा नसकिँदै सरुको जवाफ आयो – “यस्तो नलेखे पनि हुन्न र?”

यही कुरा मैले भीमजीसँग अगाडि नै सोधिसकेको थिएँ प्रयुक्त भाषाको सन्दर्भमा । मेरो जवाफ यस्तो थियो – “यत्ति नलेखे डिभोर्स नहुने रहेछ । आरोपहरू गम्भीर प्रकृतिका नभए अदालतले ल्याङ गरिरहन्छ रे ।

मोबाइलको म्यासेज टोन फेरि बज्यो । खोलेर हेरेँ । उसले लेखेकी थिई – “ठिकै छ उसोभए … ‘हुन्छ भन्दिनू ।

हो, सरुलाई पेपरमा प्रयुक्त भाषा मन परेको थिएन । उसलाई ममाथि त्यतिबिघ्न लाञ्छनाहरू लगाउन पनि मन थिएन । किनकी ऊ जान्दथी - ती गम्भीर आरोपका भागीदार म थिइनँ । उसले मबाट चाहेको केवल छुटकारा हो । लगाउन/ खान नदिएकोघरबाट निकालेकोपरपुरुषसँग नाम जोडेर मानसिक यातना दिएकोमादक पदार्थ सेवन गरी गालीगलौज र कुटपिट गरेको …’ वाफ रे ! उसको मिसन पूरा गर्न मिथ्या आरोपहरू पनि स्वीकार गरिदिएँ । त्यो पनि तौली-तौली आफैँले आरोपहरूका तरेली खडा गरेर । दुवैको तर्फबाट पेपर पास भएपछि म पुनः अफिस फर्किएँ ।

त्यो दिन मलाई भिन्न अनुभूति भइरहेको थियो । घर फर्केपछि पनि खुब छट्पटी भयो । पेट पोलिरह्यो । फेसबुक म्यासेन्जरमा थुप्रै म्यासेज लेखेँ - अझै ढिला भइसकेको छैन, सम्बन्ध जोगाऊँ भनेर । उसले सबै पढी तर जवाफ फर्काइन । बरु उल्टै मलाई ब्लकहान्दिई । अहँ, पटक्कै निदाउन सकिनँ । कोल्टे फेर्दाफेर्दै पूरै रात कटेछ । बिहानपख एकैछिन आँखा के झप्किन मात्र लागेका थिए, उठेर ड्युटी जाने बेला भैगयो । कलेज जानु त एउटा नियमितता मात्र थियो । कक्षा कोठाभित्र छिरेर के बोलेँ के पढाएँ, थाहै भएन । बोल्दाबोल्दै दिमाग शून्य हुन्थ्यो, खालीखाली हुन्थ्यो । अनि एकैछिन टोलाउँथेँ । म छु कि छुइनमा विरोधाभाष हुन्थ्यो ।

दुई दिनपछि भीमजीले फोन गरे र आउने बुधबारका लागि समय निकाल्न भने । दुवै जना पहिले मेरो अफिसमा आउनुहोला । यहाँ सामान्य सहीछाप गर्नुछ पेपरमा । त्यसपछि बेलैमा जिल्ला अदालत छिरौँला । फस्ट आवरमै घान हाल्न पाइयो भने एकैदिनमा काम फत्ते हुन्छ,” उनले बोलेका शब्द-शब्द कानमा गुन्जिरहे । अफिसबाटै मैले सरुलाई भाइबरमा सन्देश पठाएँ  १६ गते अदालत जानुपर्ने भो भनेर ।

देशमा यत्रा राजनीतिक परिवर्तनहरू भए । यो दुईतीन वर्षको अवधिमा दलहरू जुटे, फेरि फुटे । ओली नेतृत्वको बहुमतको सरकार अल्पमतमा परेर ढलिसकेको थियो । यताको अदालतदेखि उताको अफगानिस्तान र तालिबानको चर्चा चुलिएको थियो जताततै । कोरोनाको त कुरै नगरौँ । दलहरू विभाजित भएर तहसनहस भइसकेको थियो देशमा । तर पनि आफ्नै आकाश यसरी विभाजित हुँदै थियो कि ती सबका सब छायाँमा परे । समसामयिक राजनीति र घटनाक्रमप्रति कुनै दिलचस्पी रहेन । मान्छेको जीवनमा सबैभन्दा कठिन घडी सम्बन्धविच्छेद रहेछ । मृत्युभन्दा पनि कठिन । सास छँदाछँदै लाश बन्नुको पीडा सबसे भयानक हुँदो रहेछ । मनले त भन्दै थियोबरु मरेर गएको भए चित्त बुझाउन सक्थेँ हुँला ।

भदौ १६ गते अर्थात् संयोगले मेरो जन्म दिन पनि । अङ्ग्रेजी तारेख पनि ठ्याक्कै सेप्टेम्बर १ । बिहान कलेज गएँ । खान खाएर बसमा आउनू । त्रिपुरेश्वरमा झर्नू । म लिन आउँला,” सरुलाई कलेजबाटै म्यासेज गरेँ । साढे नौ बजेतिर उसलाई लिएर म भीमजीको कार्यालयतर्फ लागेँ सिंहदरबारको बाटो भएर । सबै तयारी सकिएपछि हामी दश बजे जिल्ला अदालत छिर्‍यौँ । त्यही बाटो भएर आउँदा जाँदा सुन्दर लाग्ने त्यो भवन त्यो दिन साह्रै कुरुप लाग्यो । भित्र गर्नुपर्ने काम सबै भीमजीले गरे । ल्याप्चे र सहीछाप ठोक्ने बेलामा हामीलाई बोलाउँथे । हामी नजिकै उभिरहेका हुन्थ्यौँ । अदालत परिसरमा सरु हलुङ्गो देखिन्थी । मसँग बोली नमिसाउने मान्छे आज भटाभट बोल्न थाली । पछि बोलिएला, नबोलिएला । त्यो दिन १४ वर्षअघिको जस्तै सरु पाएँ मैले । छोराछोरी मसँगै छोड्न ऊ राजी थिई । त्यस अर्थमा केही सान्त्वना आफैँले आफैँलाई दिइरहेको थिएँ । अदालती काम हुँदै गर्दा दिउँसो भोक पनि लागेको जस्तो भयो । मैले बिहान खाना पनि खाएको थिइनँ । हामी एकैछिन हराउँछौँ है भनेर भीमजीसँग अनुमति लियौँ र नजिकैको रेस्टुरेन्टमा छिर्‍यौँ । मम उसको मन पर्ने खाजा । वैवाहिक जीवनको लगभग अन्तिम क्षणतिर थियौँ । अब उसलाई चित्त दुखाउनु पनि थिएन, उसको मन जित्नु पनि थिएन । न पाउनु, न गुमाउनु । खाजा खाइओरी पुनः अदालत हाताभित्र छिर्‍यौँ । तेस्रो तल्लामा इजलास तोकिएको रहेछ । भीमजीलाई पछ्याउँदै हामी लिफ्टबाट माथि चढ्यौँ । इजलासमा हाम्रो जस्तै समस्या लिएर आएका अरू थुप्रै मान्छेहरू पनि थिए । केही कोर्ट म्यारिजका लागि फूलमाला पहिरिएर आएका जोडीहरू पनि थिए । उनीहरूको प्रेमालाप देखेर असजिलो लागिरहेको थियो । पारपाचुकेका लागि उपस्थित श्रीमान्-श्रीमतीहरू सबै छुट्टाछुट्टै खेमामा बाँडिएर बसेका देखिन्थे । लोग्ने पक्षका एकातिर, स्वास्नी पक्षका अर्कातिर । तर हामी भने एकै ठाउँमा गएर बस्यौँ । त्यति मात्र कहाँ हो र ! हामी त गफ्फिरहेका थियौँ । ऊ निकै चङ्गा भएकी थिई शायद । मसँग धेरैपछि ऊ यति खुलेर बोलेकी थिई । नबोलेरै उसलाई अन्तिम घडीमा चित्त दुखाउन मनले मानेन । साथ दिइरहेँ । छ/सात जोडीको मुद्दा टुंगो लागेपछि हामीलाई पालैपालो अगाडि डाके न्यायाधीशले । न्यायाधीशका केही प्रश्नहरूको जवाफ आ-आफ्नो पालामा दियौँ । यो साँच्चिकै डिभोर्स हो कि ख्यालख्यालको हो?” उनले सोधे । शायद हामी एकै ठाउँमा बात मार्दै बसिरहेको देखेर पनि होला । म अगाडि उभिरहँदा मेरो हेल्मेट पनि उसैले बोकेकी थिई । बर्षौँदेखिको मिल्ने साथीको रुपमा हामी कुन बेला बदलिएछौँ, पत्तै पाइएन । अरूको जस्तो अदालतभित्रै भनाभन र रुवाइकराइ हाम्रो थिएन । हाम्रो डिभोर्स भलादमी डिभोर्स थियो । बाहिर देखिँदा जस्तो भए पनि न्यायाधीशले कागजको भाषालाई कार्यान्वयन गरे । ढड्डामा सही धस्काएपछि अब हामी कानुनी रूपमा श्रीमान्-श्रीमती रहेनौँ, नदीका दुई किनारा भयौँ ।

अबेरसम्म बसेर भए पनि हामीले तल प्रशासन फाँटबाट पारपाचुकेको प्रमाणपत्र लियौँ । कर्मचारीले पालैपालो नाम बोलाए । सरुको सट्टा पनि मै गएँ प्रमाणपत्र लिन । त्यहाँको कर्मचारीले पनि सोही प्रश्न दोहोर्‍याए – “तपाइँहरूको डिभोर्स ख्यालख्यालको हो कि के हो?”

डिभोर्स पनि ख्यालख्यालको हुन्छ र सर?,” मैले भने ।

विदेश जानेहरूले पेपर म्यारिज र पेपर डिभोर्स गर्छन् नि । त्यस्तै हो कि भनेको,” उनले खुलस्त पारे । डिभोर्सको प्रमाणपत्रलाई सरुले दिएको बर्थडे गिफ्टको रूपमा स्वीकार गरेँ । यो उपहार निकै महंगो र अनौठो पनि थियो ।

भीमजीसँग बिदा भएर हिँड्ने तरखर भयो । उनले सोधे – “अब कताकता लाग्नुहुन्छ त, प्रेमजी?”

जाने एकै ठाउँ हो, भीमजी,“ मैले भने ।

लौ त च्यात्तिऊँ अब । झुक्किएर फेरि बुडा/बुडी भन्नुहोला नि एकअर्कालाई । अब पाइँदैन, अप्ठ्यारो पर्ला,” देब्रे आँखा झिम्क्याउँदै उनले भने ।

पछि भेट्ने वाचा गर्दै भीमजी र हामी छुट्टियौँ । सरुलाई लिएर म डेरातर्फ लागेँ । फर्कँदा कालीमाटी छिरेर अलिकति तरकारी पनि किन्यौँ । तरकारीको झोला उसैले दुई जनाको बीचमा च्यापी । प्रायः सँगसँगै यात्रा गर्दा यसरी नै झोलाले सीमारेखाको काम गर्दथ्यो हामी दुईबीच ।

सम्बन्धको औपचारिक समाप्तिपछि मन छ्याङ्ग उघारियो । उघारियो पनि के भन्नु, उजाडियो । हेर्दाहेर्दै हामी नदीका दुई तीर भयौँ । तीरहरू उस्तै लाग्छन्, तर मिलन हुँदैन । बीचमा बहने पानी दुई किनाराको साक्षी । हामी डिभोर्सीभयौँ भन्ने विश्वास अहँ अझै लागिरहेको थिएन ।

घरभित्र प्रवेश गरेपछि आमाले मेरो मुखमा टुलुटुलु हेर्नुभो । बुढेसकालमा छोराको यो हविगत होला भनेर शायदै सोच्नुभाथ्यो होला उहाँले । डिभोर्स गरेर पनि बुहारी घरमा, त्यो पनि छोरासँगै एउटै बाइकमा चढेर आउला जस्तो लागेको थिएन आमालाई ।

सरु बाबुनानीसँग भुल्लिन थाली बेडरुममा । म भान्छा कोठामा आमालाई भन्दै थिएँ अब केही नभन्नू आमा । अब हामीले भन्ने अधिकार राख्दैनौँ । उसका पनि छोराछोरी हुन् । तीज आइसक्यो । दुईचार दिन साथमा बस्ने रहर रहेछ उसको । समृद्ध र सपनालाई पनि डिभोर्स भाको कुरा नसुनाउनू । ऊ आज कत्ति खुसी छ । महिनौँसम्म पनि मसँग नबोलेको मान्छे आज फटाफट बोली ।

सदाझैँ खाना खायौँ । घरधन्दा पनि उसैगरी सम्पन्न भयो । कहीँकतै हल्लाखल्ला गरिएन । सरुको माइती पक्षलाई पनि थाहा दिइएन । उहाँहरूलाई जति भन्नु अन्तिम निर्णय लिनुभन्दा पहिले नै भनिसकेको थिएँ । वरपरका छरछिमेक कसैले पनि पत्तो पाएनन् हामीले डिभोर्स गरिसकेका थियौँ भनेर ।

म भोलि मामाघर जान्छु । फेरि जापान जानु पर्ने भयो, बुबाममीलाई भेटेर आउँछु । तिमीहरू राम्ररी बस है । न्यास्रो लागे अनलाइन कक्षा सकिएपछि कल गर्नू, भाइबरमा गरे पनि म्यासेन्जरमा गरे पनि,” सरुले नवौँ दिनको दिन भान्सा सकिएपछि छोराछोरीलाई भनी । म ल्यापटप खोलेर टोलाइरहेको थिएँ । बाबु १३ वर्षको भइसकेकोले ऊ अलि कुरा बुझ्ने भइसकेको थियो, सम्हालियो । नानी भर्खर असारबाट ११ लागी । सरुको कुराले उसको अनुहार मलिन भयो । सरु लुगाफाटो मिलाउन थाली । केही साना साइजका लुगाहरू छोरीलाई सुम्पिई । कुन सामान कता राख्ने भनेर एक-एक निर्देशन दिई छोरीलाई । चोकोपाई किनेर खानू भनेर दुवैको हातमा दुई/दुई सय रूपैयाँ थमाई । मेरा आँखाका कोषहरू आँशुले भरिए । यत्तिकैमा मेरो नजर पलङको शिरपट्टि माथि भित्तामा झुण्ड्याइएको फोटोमा पर्‍यो । फोटोको फ्रेमबाट धागो काट्दै तुन्द्रुङ्ग एउटा माकुरो झुण्डियो । मैले हात थापेँ, माकुरो हातमा ओर्लेन । फरक्क फर्कियो र सुइयँऽऽऽ मास्तिर गयो । यताउता हेरेँ, सरु आफ्नै लयमा थिई । सफा गर्ने बहानामा सरक्क फोटो निकालेँ र दराजको एउटा घर्रामा कोचिदिएँ ।

भोलिपल्ट शनिबार भदौ २६ गते । ऊ सबेरै हिँड्न तयार भई । छोराछोरी भुस्भुस् निदाइरहेका थिए । ऊ छोराछोरीले थाहा नपाओस् भन्ने चाहन्थी । आफैँलाई गाह्रो हुन्छ भनेर उसले बुझेकी थिई । मैले सुटकेस बोकिदिएँ र सडकसम्म उसलाई पुर्‍याउन गएँ ।

सडकमा पुग्ने बित्तिकै एउटा पर्यटक बोक्ने बडेमानको बस आइपुग्यो । सामान बसमा उकालिदिएँ र गाडी भाडा सोधेँ । पर्दैन भनी । ऊ सिटमा बसी र अर्कोतिर फर्की । उसले मतिर फर्केर पनि हेरिन वा हेर्न सकिन । गाडी हिँड्ने बेला भो । म शून्यशून्य भएँ, मुखबाट कुनै बोली फुटेन ।  गाडीबाट सरक्क ओर्लिएँ ।  मेरा आँखाबाट बर्र…. अश्रुदाना खसे । सडक किनारामा थचक्क बसेँ र निकैबेर रोइरहेँ ।

 

समाप्त 

 

कथाकार परिचय:

नाम : भानुभक्त बिष्ट

पिता : स्व. शिव बहादुर बिष्ट

माता : लक्ष्मी बिष्ट

स्थायी ठेगाना : मकवानपुर जिल्ला, मनहरी गाउँपालिका, वडा नं ७, बिजौना ।

अस्थायी ठेगाना : काठमाडौँ

पेशा : शिक्षण + पत्रकारिता

शैक्षिक योग्यता : एम ए (अङ्ग्रेजी साहित्य), बी.एड.

रूची : साहित्य

हाल कार्यरत विद्यालय : श्री कुलेश्वर माध्यमिक विद्यालय

-मेल : bhanubhaktabista@gmail.com



Comments